हिन्दी फिल्म "द लन्चबक्स" हेरियो । घरैको खाना अफिसमा पुर्याउने मुम्बईका डब्बावालाहरूको एक गल्तीका कारण कसरी एक गृहिणी र सेवानिवृत्त हुन लागेको सरकारी कर्मचारीका बीच प्रेम हुन पुग्यो भन्ने कथा छ यसमा । मध्यमवर्गीय परिवारकी गृहिणी इला (निम्रत कौर) को आफ्नो श्रीमानसँग राम्रो सम्बन्ध छैन । श्रीमानको मन जित्न उनी दिनहुँ मीठा परिकार बनाउने कोशिश गरिरहन्छिन् । यसमा उनकी छिमेकी (आन्टी जसको आवाज मात्र सुनिन्छ पार्श्वबाट) ले सहयोग गर्छिन् । तर दैववशात् उनले श्रीमानका लागि पठाउने डब्बा सरकारी कार्यालयका लेखापाल
विधुर साजन फर्नान्डिज (इर्फान खान) कहाँ पुग्छ । गल्ती थाहा पाएपछि इलाले साजनलाई चिट्ठी पठाउँछिन् र साजनले जवाफ फर्काएपछि उनीहरूका बीच त्यै लन्चबक्समा चिट्ठी आदानप्रदान हुन्छ जसमा उनीहरूले आफ्नो जीवनका दु:ख एक अर्कासँग साट्छन् (चिट्ठीमात्र नभएर यहाँ त खानाले पनि पो संवाद गर्छ) । विस्तारै दुवैको मनमा प्रेमांकुर समेत रोपिन्छ तर के ती दुई सदाका लागि एक अर्काका हुन सक्लान् त ? फिल्म ओपेनएन्डेड छ । इर्फान खान, निम्रत कौर र नवाजुद्दिन सिद्दिकीले एकदमै राम्रो काम गरेका छन् । नवाजुद्दिनले अस्लम शेखको भूमिका निर्वाह गरेका छन् जो साजन रिटायर भएपछि उनको स्थानमा आउन खोजिरहेको छ । कथानक अघि बढ्दै जाँदा हुने चरित्रको विकासलाई निर्देशक रितेश बत्राले कलात्मक पाराले देखाएका छन् । इर्फान सुरुमा एक्लै बस्ने अल्लि विथड्रन खाले हुँदा उनको शारीरिक हाउभाउ टाइट देखिन्छ भने चिट्ठीमार्फत मनका व्यथा फुकाउँदै जादा शरीर पनि रिल्याक्स्ड हुँदै जान्छ र अस्लमप्रति पनि उनी
खुल्दै जान्छन् । चिसा मान्छेलाई पनि प्रेमको तातोले मानवीयता दिलाउँछ । अनि उनले आँखाले, मुखमुद्राले पनि धेरै बोलेका छन् बरु शब्दै चाहिँ कम निकाल्छन् मुखबाट (फिल्मजस्तो भिजुअल माध्यममा साइलेन्सको कत्तिको महत्त्व हुन्छ भन्ने कुरा यहाँ मज्जैले प्रमाणित हुन्छ) । निम्रतले पनि ननभर्बल जेस्चरमार्फत उत्कृष्ट अभिनय गरेकी छिन् । आवाज मात्र सुनिने भए पनि भारती अच्रेकरको "अभिनय" लाजवाब छ (हुन त पूरा फिल्मको चुरो नै अनुपस्थितिमा अडिएको छ) । नवाजुद्दिनको हास्य र करुणायुक्त अभिनय पनि काबिलेतारिफ छ । मुम्बई सहरलाई मजाले दृश्यांकन गरिएको छ । केही सिन दोहोरिएका र फिल्म अवधिलाई घटाउन सकिने कमजोरीका बाबजुद यो बलिवुडमा बन्ने फिल्महरूमध्ये प्रशंसनीय प्रयास बन्न पुगेको छ । नेपालमा भने हलमा रिलिज नभएकाले डिभिडी ल्याएर हेर्नुपर्छ ।
Sunday, September 29, 2013
Subscribe to:
Posts (Atom)