जवान प्रेमका उतारचढाव
युवा उपन्यासकार सुबिन भट्टराईको ताजा उपन्यास समर लभ पाठकलाई जवान हृदयको प्रेमिल संसारमा पु¥याएर आनन्दित तुल्याउन सफल छ । प्रमुख पात्र अतीत र सायाबीचको प्रेमको उत्कर्ष अनि रहस्यमय तरिकाले उनीहरुमा आएको विग्रहलाई भट्टराईले सुललित गद्य र आकर्षक कथानक विकासमार्फत प्रस्तुत गरेका छन् ।
अतीतको दृष्टिकोणबाट यो उपन्यासको कथानक अघि बढ्दछ । फ्रेम स्टोरीका रूपमा प्रस्तावनामा नर्वेको सेटिङ छ जहाँ अतीतको भेट उपन्यासकारसँग हुन्छ र उसले आफ्नो प्रेम कहानी सुनाउँछ ताकि उपन्यासकारले यसमाथि एउटा कृति सिर्जना गरोस् । अलि कमजोरखालको अतीत र दृढतायुक्त साया वातावरण विज्ञानको स्नातकोत्तर तहका विद्यार्थी हुन्छन् । कीर्तिपुरमा दुवैको बीचमा परिचय हुनुअघि सायाको बारेमा जान्न उत्सुक अतीतको मानसिक उहापोहलाई लेखकले सुन्दरताका साथ पेश गरेका छन् । परिचय भएपछि उनीहरु बानेश्वरबाटै कीर्तिपुर जानेगरेको थाहा पाउँछन् र सहयात्री बन्छन् । यही व्रmममा उनीहरुको बीचमा मीठा घोचपेच र फ्लर्ट हुन थाल्छन् । लेखकको कला यी दुई पात्रका एक लाइनका संवाद र तीव्र गतिको हाजिरजवाफीमा झल्किएको छ । युवा प्रेमीहरुको यथार्थपरक संवाद पाइन्छ । दुवैमा प्रेम बस्दै जान्छ र अतीतको प्रेमप्रस्ताव सायाले स्वीकार्छे । अनि उनीहरुको बीचमा शारीरिक तथा मानसिक प्रेमका अनेकौं शृंखला सुरू हुन्छन् । पोखरा तथा चितवनमा अध्ययन भ्रमण गर्न गएका बेला दुवैको प्रेम अझ उद्दीप्त हुँदै जान्छ । दुवैको पढाइ पनि राम्रै हुँदै जान्छ र दुवैले उच्च अंक ल्याएर एमए सक्छन् ।
साया थप अध्ययनका लागि नर्वे जान्छे भने अतीतले धनगढीमा एउटा जागिर पाउँछ । यो भौतिक दूरीले प्रेमलाई झनै बढाउँछ र उनीहरुको अलि फिल्मी पारामा धनगढीमा विवाह पनि हुन्छ । विवाहपछि साया फेरि नर्वे फर्किन्छे र यसपछि सुरू हुन्छ उनीहरुको बीचमा विग्रह । यो विग्रहको कारण उपन्यासमा खुल्दैन र यही रहस्यमयता नै यसको सशक्त पक्ष हो किनकि पाठकले आफ्नो कल्पनालाई यसमा दौडाउने अवसर पाउँछ ।
उच्च किसिमको शास्त्रीय उपन्यास होइन यो । युवाहरुको प्रेमलाई व्यक्त गर्ने काव्यिक रचना भने पक्कै हो । यसमा दुईथरी रसको उत्कर्ष पाइन्छ । उपन्यासको पहिलो भाग शृंगार रसले भरिएको छ र दुई प्रेमीबीचको तीव्र गतिको संवादले एउटा सुन्दर चाचा नृत्य भइरहेको आभास पाइन्छ । दोस्रो भाग भने करूण रसले सराबोर छ र पीडाले भरिपूर्ण छ । सायाले बेवास्ता गर्न थालेपछि अतीत शोकको सागरमा डुबेको दृश्यले भावुकताको शिर चुमेको पाइन्छ । यो शोकको चरम अतीतले सायालाई लेखेको पत्रमा अभिव्यक्त भएको छ । पत्र तथा डायरीमा लेखकको निजात्मकता राम्ररी झल्किन्छ र यहाँ पनि यस्तो लाग्छ मानौं लेखकले आँसु खसाल्दै यसको रचना गरेका हुन् । पाठक पनि अतीतसँगै रून थाल्छ ।
उपन्यासमा मद्यपानसँग जोडिएका वमनका दृश्यले गहन अर्थवत्ता निर्वाह गर्दछन् । हाल चलचित्र दर्शनमा वीभत्सताको शास्त्र विकसित भएको छ । बर्लिन विश्वविद्यालयका जुलियन हानिचले आकस्मिक वीभत्सता र पूर्वानुमानित वीभत्सता भनी यसको वर्गीकरण गरेका छन् । यसैलाई उपन्यासमा पनि हेर्न सकिन्छ । आकस्मिक वीभत्सतामा वीभत्स वस्तु (उपन्यासमा वमन) अचानक आएर पाठकलाई झट्का दिन्छ अनि उसको ध्यान वीभत्सतामा केन्द्रित गराउँछ । पोखरामा अतीतले धेर रक्सी पिएर पचाउन नसकी छादेको दृश्य यसको उदाहरण हो । अर्कातर्फ पूर्वानुमानित वीभत्सतामा पाठक पहिल्यै वीभत्स दृश्यका लागि तयार भएर बस्छ यस्तो दृश्यको परिणामको अनुमान लगाउन थाल्छ । पछि पछि जब जब अतीतले रक्सी खाएको छ त्यहाँ प्रायः छादेकै छ । यी दुवै वर्गका वीभत्सताले पाठकलाई कथानकीय क्षणमा बाँध्न मद्दत गर्छन् र यिनले अतीतको कमजोरीलाई जोड दिँदै ऊप्रति सहानुभूति पैदासमेत गराउँछन् । यो वीभत्सताले शृंगार रसको समेत उद्दीपन गरेको छ किनकि वमनमार्फत समेत देखिएको अतीतको लूरेपना सायाका लागि प्रेम विकासको माध्यम बन्नपुगेको छ ।
शृंगार रसलाई नै जोड दिनका लागि यौनका दृश्य समेत समावेश गरिएका छन् उपन्यासमा । तर मैथुनका प्रसंग अश्लील छैनन् । कलात्मक पारामा वर्णन गरेका छन् लेखकले यसलाई । अतीत र सायाको प्रथम शरीरसुखका बेला सायाको भाईको अचानक उपस्थितिले जन्माएको तनावले पाठकमा कुतकुती तथा थ्रिल जगाउँछ । थ्रिलकै कुरा गर्दा अतीत सायालाई भेट्न दिल्लीको विमानस्थल जाँदा उसले बेहोर्ने प्राकृतिक तथम अन्य अवरोधको वर्णनले पाठकको ध्यान बाँधिराख्छ । कुनै पनि प्रसंगमा पाठकको ध्यान विचलित हुन पाउँदैन जसलाई लेखनीको बलियो पक्ष मान्न सकिन्छ ।
साहित्यिकताले भरिएका उपन्यासको कमीले ग्रस्त छ नेपाली साहित्य । राजनीति, दर्शन, नारालगायतका साहित्येतर तत्वले थिचेका छन् विशुद्ध साहित्यलाई । तर यो उपन्यासमा साहित्यिक अलंकारको राम्रो प्रयोग भएको छ । भाषामा राम्रो पकड भएका शब्दशिल्पी हुन् सुबिन र यहाँ उनको प्रतिभाको उच्च प्रस्फुटन भएको छ । युवा पाठकहरूले त यो उपन्यासको जोडदार स्वागत गर्नेछन् भने अलि उमेर पुगेका पाठकले पनि आफ्ना विगतका प्रेमिल दिनको सम्झना यसमार्फत गर्नेछन् । त्यसैले पनि यो उपन्यासको सफलता सुनिश्चित भएको हो ।
No comments:
Post a Comment