Monday, December 24, 2012

Chisapani Hike with Book Lovers


अघिल्लो शनिबार र आइतबार लेखक पाठकको समूहमा मिसिएर चिसापानी-नगरकोट ट्रेकिङ्मा गइयो । बिहान १० बजेसम्ममा चाबेलमा भेला भएर सुन्दरीजलको गाडी चढियो । किशोर पहाडी, सगुना शाह, अजित बराल, विपिन घिमिरे, निरन्जन सिंखडा, चन्द्रशेखर खड्का, सुबिन  भट्टराई, अनुपम पोख्रेल, रिजन पोख्रेल, सेवा भट्टराई, ऋचा भट्टराई, शंकर रिजाल, सौगात कार्की र म उक्त समूहका सदस्य थियौं । हाइकिङको आइडिया अनुपम पोख्रेल याण्ड कम्पनीको थियो । एक अर्कालाई झन् नजिकबाट चिन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो ।
सुन्दरीजलसम्म साहित्य, फिल्म, समालोचना लगायतका बिषयमा अनेक कुराकानी गर्दै गैयो । सुन्दरीजल पुगेपछि एउटा होटेलमा छिरेर चियापान गर्ने योजना बन्यो र चियापानसँगै औपचारिक परिचय आदानप्रदान गरियो एक आपसमा । फेस्बुकको "बुकाहोलिक्स्" समूहकी जननी सगुना दीलाई किशोर पहाडी दाइले खादा ओडाएर सम्मान गर्नुभयो तालीका भव्य गडगडाहटसँगै । सगुना दीले खोलेको यो फेस्बुके समूह विद्वत् भेलाको राम्रो थलो बन्न पुगेको छ आजकल ।
सम्मान तथा चियापानपश्चात् हाम्रो टोली सुन्दरीजलबाट माथि उक्लियो, दुई किलो जेरीका साथ । समूह ससाना उपसमूहमा विभक्त भयो र गफका सिलसिला जम्न लागे हिँडाइसँगै । अल्लि माथि पुगेपछि हाम्रो बाटो शिवपुरी राष्ट्रिय निकुंज हुँदै जाने हुनाले गेटमा टिकट काट्न पर्ने रहेछ, सो काटियो । अलिबार हिँडेपछि एउटा विश्रामस्थल आयो । त्यहीँ बसेर जेरीमाथि धावा बोलियो । पानी पिएर बाटो तताइयो त्यसपछि । हिँड्दै गैयो ससानो समूहमा सबैजना । गफ चलेकै छन् । उकालोमा शरीरलाई परिश्रम पर्ने, तेर्सो बाटो आएपछि दौडिन मन लाग्ने । अनि पहाडका घना जंगलको हरियाली कति राम्रो ? शीतल पवनस्पर्शले ताजगी ल्यायो तनमनमा । प्रकृति कति सुन्दर छिन् ? अलिक उकालो चढेपछि फेरि विश्राम गर्नलाई एउटा होटेलमा बसियो । अजित दाइ र अनुपम फेनी खान थाले, अरु चाहिँ सादा पानी र चाउचाउमा रमाउन थाले । किशोर दाइले अलि गाह्रो अनुभव हुन थालेको कुरा पो गर्नुभो । प्रेसरले सतायो भन्नुभो । केहीबेरको मन्थनपश्चात् दाइलाई माथि जाँदा गाह्रो हुन्छ, फर्किनु नै उत्तम होला भन्ने निष्कर्ष निस्क्यो र दाइ फर्किनुभो । अरु भने अगाडि बढ्न थाल्यौं ।
हिँडेका छौं हामी चिसापानीका लागि उकाली, ओराली, तेर्सो, सोझो बाटो पच्छ्याउँदै । समूह ससाना छन् । बेस्सरी हिँड्नसक्ने अगाडि दौडिएका छन् । बीचको समूहमा अरुसँग म छु । अन्त्यमा छन् केही अन्य । वन्य वातावरण मनोरम छ । गाउँका ससाना घर हेर्दै बढ्दैछौं हामी । बाटामा फोटो खिच्ने क्रम पनि जारी नै छ । नयाँ पढेका किताब, फलानो लेखकको प्रतिभा आदि विषयमा चर्चा परिचर्चा हुँदैछ अनवरत । बोल्दै हिँड्दा थकाइ लागेको हो धेरै ? तैपनि बोल्न के छोडिन्थ्यो ? जंगली जनावर वा पक्षीको दर्शन पनि पाइएन । केही सहयात्रीले चाहिँ "हरिण देख्यौं" भनेर ईर्ष्यालु बनाए पछि । एउटा विश्रामस्थलमा बसेर बाँकी जेरी खाउँ न त भनेको अनुपमले झोलै कता छोडेछ । हत्तेरिका ! खैर, आफूले बोकेको अन्य खानेकुरा बाँडीचुडी गरे साथीहरूले । एवं रीतले साँझको ५ बजेतिर चिसापानी पुगियो र निर्धारित होटेलमा बसियो ।             
ए लीला, लास्टै जाडो पो रहेछ त चिसापानी ! २१६५ मिटरको हाइटमा के जाडो नहोस् त ? "ल अब राति मोज गर्ने," केटाहरू तात्तिन थाले । बोकेर हिँडेका रहेछन् वाइन आदि । एउटा कोठामा सामान थन्काएर होटेलबाहिरको खुल्ला ठाउँमा दाउरा बाल्न लगाएर हुर्हुर आगो ताप्दै मापसे गर्न थाले साथीहरू । नगर्ने हामी अल्पमतमा भएका चाहिँ रेडबुल सुर्क्याउन थाल्यौं । कुरा काट्न थाल्यौं मन नपरेको मान्छेको । ऋचा आफूले गरेका गल्तीलाई अभिनयमा ढाल्न थालिन् । रमाइलो भयो । शंकरले गोजीमा लाइटर बोकेको रहेछ, दाउराको आगोको रापले गोजीभित्रै पड्केछ । हताहती केही भएन धन्य ! ८ बजेतिर दाउरा पनि पच्यो अनि होटेलमा गएर खाना खाइयो । खाना मीठै थियो ।  त्यसपछि एउटा ठूलो कोठामा सबैजना बसेर गफ गर्ने सल्लाह भयो । बसेर थालियो गफ गर्न । अनुपम र अजित दाइले अल्लिअल्लि गरेर बबाल मापसे गरे होटेलबाट मगाएर । अनुपम त मात चढ्दै गएपछि उन्मुक्त वार्ता गर्न लाग्यो । "एफ् वर्ड", "बीप बीप" गर्दै के के भन्छ के के । लास्टै गफाडी नि ! १२:३० सम्म गफ गर्या छौं गर्या छौं । र्याडिकल फेमिनिस्टलाई खूब उडाए केटाहरूले । साह्रै भयो भनेर उठियो अनि सुत्नलाई आआफ्नो कोठामा लागियो पछि त । अजित दाइ र म एउटा कोठामा दुईटा अलग अलग सिङ्गल बेडमा सुत्यौं । मलाई खाट चेन्ज गरेछि निद्रा नलाग्ने एक त, त्यसमाथि अजित दाइ राति बाघ घुरेझैँ घुर्दा रैछन् । के सुत्न सकिन्थ्यो ? यता र उता फर्कदैँ हल्का मात्र सुतेर ६ बजे त उठिहालेँ । आफ्नो कोठामा सगुना दी चाहिँ रातभरि भूतले सिरक चलाएर सुत्नै दिएन पो भन्दै हुनुहुन्थ्यो पछि । कस्तो जाँगरिलो भूत परेछ त ?
भोलिपल्ट बिहान दाँत माझ्न पानी खोलेको त आच्छु के साह्रो चिसो पानी ! सिरिङ्गै बनायो । अनि सफा भएर बाहिर निस्केको त गजबको दृश्य देखियो नि ! सूर्योदय भयो अनि सूर्यकिरणको लालिमाले लाङ्टाङ हिमालको पूरै रेन्जलाई टलक्क टल्कायो । आहा, कति राम्रो ! म त मुग्ध भएर प्राकृतिक सौन्दर्यको अवलोकनमा व्यस्त भएँ । थुक्क, क्यामरा बोक्न किन अल्छी गरेँछु नि भन्ने लाग्यो । ह्या, के भो त ? आँखैको क्यामराले त्यो स्वर्गीय दृश्यलाई स्मृतिपटलमा सुरक्षित राखेँ । आनन्द आयो । यही दृश्य हेर्न त यस्तो दु:ख गरेर आउँछन् मानिस  यहाँ । नेपाल देश प्रकृतिका लागि त धनी छ जे होस् । दृश्यावलोकनपश्चात् होटेलमा फर्केर ब्ल्याक कफी खाइयो । दुईतीन कपै पिइयो नि त्यस्तो जाडोमा । सबैजना उठिसकेका थिए त्यसबेलासम्म । पछि टिबेटन ब्रेडमा टम्याटो सस हालेर ब्रेकफास्ट गरियो । अरुले भने ब्रेडसँग अम्लेट खाए । अनि ९ बजेतिर लागियो नगरकोटतिर । बाटोभरि हिमालयन रेन्जको मनोहारी दृश्यमा रमाउँदै बढेका छौं हामी ससाना समूहमा ।                  
हिँड्दैछौं । बाटोमा एउटा ससानो पोखरी आयो । बस्यौं त्यतै एकछिन । घामले रनक्क बनायो जिउलाई ।  केही साथी फोटो खिच्दै पोखरीका छेउ छेउ डुल्न थाले । केही समयपछि फेरि बाटो लागियो । उही ससाना समूहमा गफ गर्दै हिँड्दै । भोक लाग्यो भने बोकेका कुरा खाँदै, तुम्लेटबाट पानी पिउँदै । शरीर पूरै गाह्रोको अनुभव गर्न थाल्यो अब चाहिँ । रातिको अनिदोँ, त्यसमाथि दीर्घशंका गर्ने जाँगर नचलेको जाडोका कारण ।  शरीरले पूरै विद्रोह गर्न थाल्यो मेरो । तैपनि घिच्याएँ यसलाई जेनतेन । लप्सेफेदी भन्ने ठाउँमा आएपछि रमाइलो ओरालो रैछ, झर्न मजा आयो । अनि त्यतैको एउटा होटेलमा खाना बनाउन लगाइयो । भोकको अनुभव पनि नभाको मलाई त पेट दुखेर । चन्द्रशेखरजी चाहिँ लौन भोक लाग्यो भन्याछन् बिचरा । पाक्दैन छिट्टो ! रहँदा बस्दा सेवाले हात हेर्ने काम गरिन् सबैको । धेरैको मिलाइन् । समय कट्यो अलिकति भएनि । बल्ल बल्ल भात आयो । गमागम खाइयो । मीठै थियो । लगभग अढाइ घन्टा बसिएछ त्यहाँ । चार बज्यो त्यहाँबाट निस्कदा ।
अब त एक घन्टा हिँडेपछि गाडी चढ्ने ठाउँ आइहाल्छ नि । ह्या, नगरकोट नजाने अब । जहरसिंह पौवाबाट गाडी चढेर काठमाडौं जाने । सबैको यही सल्लाह भयो ।  चन्द्रशेखरजी र म दौडियौं अगाडि । अरु पछि पछि आइरहेछन् । धुलौटे बाटोमा चितुवाको पंजाछाप देखियो । त्यतिबेलै कुनै जनावरले आवाज निकाल्यो । सातो गयो । तर केही हैन रहेछ । ल, जहरसिंह पौवा आयो । गाडी नि पाइयो । जोरपाटीसम्म आउने रहेछ । चियापान गरेर सबैजना चढियो त्यसैमा । जोरपाटीमा ओर्लिएपछि मैले त बानेश्वर जाने माइक्रो भेटिहालेँ । अरुले पनि गाडी भेटे क्यारे । हाम्रो रमाइलो यात्रा यसरी पूर्ण भयो । अब फेरि पनि यस्ता यात्रामा निस्कने योजना छ । 

No comments: