Sunday, September 20, 2015

संवेदनाका अन्तरकथा (विकास संग्रौलाको उपन्यास "अनलाइक्ली स्टोरीटेलर्स") Unlikely Storytellers


यो समीक्षा नागरिक दैनिकमा असोज २, २०७२ मा प्रकाशित भएको थियो ।
http://nagariknews.com/nagarik-sanibar/story/45663.html

कथाप्रतिको आसक्ति मानवीय स्वभाव नै हो। प्राग्ऐतिहासिक कालमा सिकारी मानवहरू दिनभरि सिकार गरेर आएपछि बेलुका छाप्रोअगाडि ठूलो आगो बालेर आफूले सिकारका क्रममा भोगेका अनुभवलाई कथाको रूप दिएर सुनाउने गरेको कुरा मानवशास्त्रीहरूका पुस्तकमा पढ्न पाइन्छ।

कथा भन्ने र सुन्ने यो आदिम चाहना मानवमा अहिलेसम्म पनि जीवितै छ। प्राचीन महाकाव्य, पुराण तथा सवाइहरू सबै कवितात्मक शैलीमा लेखिएका कथा न हुन्। अझ, कथा भन्नु त उपचारात्मक विधि पनि हो। चर्चित मनोविश्लेषक सिग्मन्ड फ्रायडले मनोपरामर्श लिन आउने मानसिक रोगीहरूलाई आफ्नो कथा खुलेर बताउन लगाउँथे। तिनै कथाका आधारमा उनी उचित उपचार सिफारिस पनि गर्थे। त्यसैले कथा भन्ने र सुन्ने काम मानवीयताको लक्षण नै हो।

हरेक व्यक्तिसँग एउटा न एउटा कथा हुन्छ। कसैले त्यो लेखेर व्यक्त गर्छ भने कसैले आफ्ना नजिककालाई सुनाएर। विकास संग्रौलाको अंग्रेजी पुस्तक 'अनलाइक्ली स्टोरीटेलर्स'ले यस्तै कथा लेख्ने र भन्ने पात्रका सम्बन्धका आयामलाई खोतलेको छ। अंग्रेजी दैनिक 'द डेली इन्फर्मर'मा काम गर्ने दीपकले पाँच जना व्यक्तिलाई भेटेर तिनका कथाव्यथा सुनेको र साथसाथै आफ्नै जिन्दगीको कथा पनि अगाडि बढाएको वर्णन उपन्यासमा छ।

दीपकको काका पर्ने अनन्तले सुरुमै आफ्नो कथा सुनाउँछन्। आफूले विगतमा गरेको गल्ती सुनाएर मन हल्का गर्ने उनको योजना हुन्छ। सहरको केटा गाउँ गएर केटीलाई गर्भवती बनाउने र छोडिदिने पुरानो फर्मुलामा निर्माण गरिएको यो कथा भने केही कमजोर लाग्छ। यस्तोखाले कथा धेरैचोटि पढिसकिएको र कैयौं हिन्दी फिल्ममा हेरिसकिएकै हो।

यता दीपक भने माओवादी द्वन्द्व उत्कर्षमा पुगेको बेला दिनहुँ हुने हत्याका समाचार संयोजन गर्दागर्दा आफ्नो पेसाबाटै विरक्तिन थाल्छन्। जिल्ला ब्युरो सम्हालिरहेका दीपकले सम्पादक केदारसँग कुरा गरेर फिचरतर्फ लाग्छन् र 'सेलिब्रेटिङ लाइफ' भन्ने स्तम्भ सुरु गर्छन्। उनका फिचरहरू चर्चित हुन थालेपछि विभिन्न व्यक्तिले पत्र लेखेर तथा प्रत्यक्ष भेटेर उनलाई आफ्ना कहानी बताउन थाल्छन्। आफूभन्दा निकै प्रौढ रहेका अपाहिज विधुरसँग विवाह गरेर अत्यासलाग्दो जविन बिताइरहेकी मेघाले एउटा रेस्टुराँमा दीपकलाई भेटेर कथा सुनाउँछिन्। व्यक्तिहरूको बीचमा संवाद हुँदा दुवैको उपस्थिति झल्किनुपर्ने हो तर कथा सुन्ने दीपक पूरै मौन बसेको अनि मेघाले आफ्नो लामो कथा सुनाइरहेको अलि अस्वाभाविक लाग्छ। पछि अन्य पात्र कैलाश र करुणाले दीपकलाई आफ्ना लामा कथा सुनाउँदा पनि दीपक यसरी नै मौन बस्छन्।

विगतले वर्तमानलाई पारेको असर दीपकले भेटेका पात्रका कथाको विशेषता हो। तीन पुस्ताअघि कन्याकुमारीको श्राप परेको मेघाको परिवारका सबै सदस्यमा केही न केही शारीरिक वा मानसिक रोग विद्यमान हुन्छ। आधुनिक युगमा श्राप पर्नेजस्तो अन्धविश्वासी घटनालाई जायज ठहराउन त नसकिएला तर परिवारका सदस्य सबैलाई समस्या हुनुको वैकल्पिक व्याख्या पनि त नपाइएला। अनि अनन्तले एउटी सोझी शेर्पिनीको शारीरिक शोषण गरेको पाप आफ्नी श्रीमती र छोरो गुमाएर भोग्नुपर्छ। दस सैनिक र पैंतीस जना सर्वसाधारणलाई एम्बुसमा पारेर मारेको माओवादी लडाकु ताराले तीव्र पश्चात्तापको अनुभव गरेर आफैंविरुद्ध कठोर निर्णय लिन्छन्। यसरी उपन्यासमा विगतले वर्तमानलाई निर्देश गरेको हुन्छ।

देशको स्थिति बिग्रेर विदेश पलायन हुन लालायित युवावर्ग (दीपकको छिमेकी प्रकाश), लागुऔषध दुर्व्यसनका कारण पारिवारिक सम्बन्धमा परेको असर (नरेन र करुणाको कथा), विवाहेतर सम्बन्धले दाम्पत्यमा ल्याएको दरार (कैलाश र मायाको जीवनमा प्रदीपको प्रवेश), नेपाली समाजमा क्रान्तिकारी मानिने लिभ इन रिलेसनसिप (दीपक र आकृति), महŒवाकांक्षाको अभावले मानिसमा ल्याउने फ्रस्ट्रेसन, गाउँमा रहेका कृषिका सम्भावनाजस्ता अन्य विषय पनि उपन्यासमा छन्। देशमा चलेको द्वन्द्व र राजनीतिक घटनाक्रमलाई पनि लेखकले जोडेका छन्।

द्वन्द्वका केही प्रतिनिधिमूलक घटनालाई उपन्यासमा झिनो तवरले आख्यानीकृत गरिएको छ। लमजुङका शिक्षक मुक्तिनाथ अधिकारी (उपन्यासमा उनी दोलखाका विद्यानाथ अधिकारीका रूपमा चित्रित) लाई चन्दा नदिएको निहुँमा माओवादीले गरेरको नृशंस हत्यालाई तारा भन्ने पात्रले बताएका छन्। ताराले अधिकारीलाई मोबाइलमा सन्देश पठाएर सचेत गराएको उल्लेख छ तर त्यतिखेर मोबाइल फोन अहिलेका जत्तिकै सहजै प्रयोग हुन्थ्यो होला र भन्ने शंका उब्जिन्छ। अनि सर्वसाधारण चढेको बसलाई एम्बुसमा पारेर धेरै निर्दोषको ज्यान लिइएको बाँदरमुढे घटनालाई बाँकेमा भएको घटना बनाएर त्यसमा पनि ताराको संलग्नता देखाइएको छ। त्यसैगरी नगरकोटमा एक सैनिकले गरेको नरसंहारलाई दीपकले रिपोर्टिङ गरेको कुरा पनि यसमा परेको छ। ताराबाहेक अन्य पात्रको द्वन्द्वसँग खासै साइनो नभएको र तारा पनि द्वन्द्वका घटनाक्रमलाई जोड्नका लागि साधारण रूपमा सिर्जिएको अनि दीपकले द्वन्द्वका हार्ड न्युज लेख्न छोडेको अवस्था देखिएकाले उपन्यासमा द्वन्द्वको चित्रण कमजोर रूपमा भएको छ।

आवरण कला अर्थपूर्ण र कलात्मक छ। क्याफेमा कफी खाँदै कुरा गरेको संकेत पाइन्छ कलामा। टेबलमुनिको झोलाले पत्रकारलाई इंगित गर्छ। भित्तामा झुन्डिएको एडवर्ड मन्चको 'स्त्रि्कम' पेन्टिङले उपन्यासका पात्रको दुःखलाई प्रतिनिधित्व गर्छ।

उपन्यासको बलियो पक्ष भनेको मानवीय सम्बन्धका आयाम केलाउन लेखक सक्षम देखिन्छन्। मेघाका बुवा मणिप्रसादको आफ्नी अर्की छोरी मायासँगको कठोर व्यवहारका कारण मायामा पैतृक प्रेमको लालसा र तज्जनित मानसिक रोगलाई लेखकले उत्कृष्ट रूपमा चित्रण गरेका छन्। दीपकले भेटेका सबै पात्रप्रति पाठकको सहानुभूति जाग्छ र उनीहरूको कथा पढिरहन मन लाग्छ। उनीहरूका कथाले संवेदनालाई छुन सक्नु भनेको लेखकको सफलता हो। उनमा मानवीय मनोविज्ञानको समझ छ, यसर्थ आफ्ना पात्रलाई प्रेमपूर्वक प्रस्तुत गर्न सफल छन्।

आफ्नो पहिलो पुस्तकमै लेखकले यसरी पात्रगठनमा शिल्प प्रदर्शन गर्न सक्नु प्रशंसनीय छ। कथानकमा केही कमजोरी रहे तापनि भाषा सरल र बोधगम्य छ। नेपाली पाठकका लागि कथा नौलो नभए पनि विदेशी पाठकले भने नेपालको एक कालखण्डलाई आख्यानीकृत गरिएको उपन्यासलाई सहर्ष अपनाउने अपेक्षा गर्न सकिन्छ।

कृति : उपन्यास

लेखक : विकास संग्रौला

प्रकाशक : नेपालय

पृष्ठ : २४०, मूल्य : ३७५/–

No comments: