Monday, October 20, 2014

Pushkar Shah's "Sansaar laaii saadhe paach fanko"

पुष्कर शाहको "संसारलाई साढे पाँच फन्को" प्रबल सम्भावना बोकेको तर अनुचित प्रस्तुतीकरणले गर्दा स्तरहीन बन्न पुगेको पुस्तक लाग्यो मलाई । विश्वका १५० देशमा घुमेर बटुलेको अनुभवजन्य पुस्तक त सांस्कृतिक, भौगोलिक, मानवीय सबै पक्षको दह्रो विवरणले भरिएको हुनुपर्ने हो । तर यो पुस्तक त विभिन्न देशमा गएर बेस्सरी जाँड धोकेको, तरुनीहरूसँग झन्डैझन्डै सुतेको, उनीहरूका नग्न शरीर देखियो भनेर दंग परेको एउटो उरन्ठेउलो युवकको डायरीमा मात्र पो सीमित रह्यो । पुष्कार पक्कै तेस्ता मान्छे हैनन् होला । उनी त विश्वमा शान्ति फैलाउने अभियानमा लागेका प्रबुद्ध व्यक्ति हुन् तर यो पुस्तक पढ्दा त उनको प्रबुद्धतामा शंका पो उठ्छ । कुनै पनि देश उनी कसरी पुगे, त्यहाँ पुगेर कुन कुन मुख्य ठाउँमा घुमे, त्यहाँका निवासीलाई केकस्तो सन्देश दिए शान्तिको भन्ने प्रश्न राखेर किताब पढ्न बसेको त तामसिक कृत्यमा मात्र जोड दिएको देखेर दिक्क लाग्यो । म नियात्राको "फ्यान" हुँ त्यसैएल यो पुस्तक पढ्न मलाई हुटहुटी थियो ।   पुस्तकमा छोटा छोटा अध्याय र केही सरस वर्णनले पठनलाई सजिलो बनाएपनि बारम्बार उस्तैखाले प्रसंग दोहोरिरहँदा पछिपछि त झर्को लागेर "स्किप" गर्न मन लाग्छ (जबकि संसारको विशेषता नै वैविध्य हो ) । सगरमाथा आरोहणको भाग तुलनात्मक राम्रै लाग्यो । तर ठाडा र भद्दा शब्द प्रयोग पुस्तकभरि नै गरिएकाले सुसंस्कृत रुचि भएका पाठकलाई बिच्काउँछ । मानवीयतामाथिको आस्थालाई दह्रो बनाउने पुष्करको यात्रावर्णन कलाविहीनताको दलदलमा नराम्ररी फँसेकोमा मलाई दु:ख लाग्यो । 

No comments: