विजय कुमारको पुस्तक "खुसी" मलाई राम्रै लाग्यो । आफ्नो जीवनभोगाइलाई लेखकले इमान्दारीपूर्वक पस्केका छन् जस्तो लाग्यो । कुनै पुस्तक मन पर्नुमा पाठकको आफ्नो पूर्वाग्रहले काम गर्छ भन्ने मेरो मान्यता छ । मैले विजय कुमारको व्यक्तित्वमा आफ्नो व्यक्तित्वका केही झल्का पाएँ, जस्तै लजालु बानी, मान्छेसँग घुलमिल गर्न नरुचाउने, बच्चा मन नपराउने तर आफ्नो पाएपछि वात्सल्यको तीव्र अनुभव गर्ने, जागिर खाने कुरामा फुक्काफाल धारणा राख्ने, कुरा सिधा राख्ने लगायतका कुरा । उनको मनमौजी बानी, अध्यात्मतिरको रुचिलाई पनि मैले आनन्दपूर्वक पढेँ । रक्सी पिउने बानी र यसबाट पाएको छुटकाराको इमान्दार प्रसंग तारिफयोग्य लाग्यो । सम्पादक/प्रकाशकसँगको कुराकानी अब्बल छ । तर "सेक्स" सम्बन्धी पूरै अध्याय नै बकवास लाग्यो किनकि यसमा उनले आफ्नो अनुभवजन्य कुराभन्दा अर्काको भनाइ दोहोर्याए । उनले अन्य व्यक्तिका भनाइमा अन्य प्रसंगमा पनि धेरै भर परेको चित्त बुझेन । पुस्तकमा तथ्यगत त्रुटि भएको कुरा त धेरैले औंल्याए तर भाषा सम्पादनमा समेत बिजोक छ । नेपाली र अंग्रेजी शब्दमा गल्ती भरमार छन् । कल्पनासँगको "प्लेटोनिक" सम्बन्धलाई "प्लुटोनिक", अमेरिकी मित्रको "yacht" लाई "याच" जस्ता गल्ती अग्रेजी शब्दमा भने नेपालीमा एकरूपता नअपनाई एउटै शब्दलाई अनेक हिज्जेमा लेख्ने कामले पठन खल्लो बनायो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment