नयनराज पाण्डे दाइको पुरानो कथा संग्रह "निदाएँ जगदम्बा" एकै बसाइमा पढिसिध्याएँ । सुललित भाषामा समाजका विकृतिहरूमाथि तीव्र व्यंग्य गरिएका कथामा निहित प्रतीक प्रयोगले नयन दाइको आख्यानशिल्पलाई उच्च बनाएको अनुभव भयो । विशेषगरी "कीला " (धार्मिक असहिष्णुता) , "देश" (अदूरदर्शिता), "निदाएँ जगदम्बा" (साहित्यिक गुटबन्दी) मा प्रयुक्त भिन्नभिन्न प्रतीकले वर्तमान विसंगतिको शल्यक्रिया गर्ने लेखकको तरिका उम्दा लाग्यो । अन्य कथा पनि राम्रै छन् । लेखकको संवेदनशीलताले समाजका विकार देखेर जन्मेको रोष नारावादी नभइकन कठोर व्यंग्यमा अभिव्यक्त भएको छ । आफ्नो व्यंग्यप्रहारको पात्रलाई धेरैले सजिलै थाहा पाउनेगरी बढी नघुमाइकन प्रस्तुत गर्नुभएको छ नयन दाइले, त्यसैले पनि ती चोटिला बन्न पुगेका छन् । छपाइको प्राविधिक त्रुटिका कारण चारवटा जति कथा चाहिँ अधूराअपूरा भएछन् ।
Friday, October 31, 2014
Monday, October 20, 2014
Pushkar Shah's "Sansaar laaii saadhe paach fanko"
पुष्कर शाहको "संसारलाई साढे पाँच फन्को" प्रबल सम्भावना बोकेको तर अनुचित प्रस्तुतीकरणले गर्दा स्तरहीन बन्न पुगेको पुस्तक लाग्यो मलाई । विश्वका १५० देशमा घुमेर बटुलेको अनुभवजन्य पुस्तक त सांस्कृतिक, भौगोलिक, मानवीय सबै पक्षको दह्रो विवरणले भरिएको हुनुपर्ने हो । तर यो पुस्तक त विभिन्न देशमा गएर बेस्सरी जाँड धोकेको, तरुनीहरूसँग झन्डैझन्डै सुतेको, उनीहरूका नग्न शरीर देखियो भनेर दंग परेको एउटो उरन्ठेउलो युवकको डायरीमा मात्र पो सीमित रह्यो । पुष्कार पक्कै तेस्ता मान्छे हैनन् होला । उनी त विश्वमा शान्ति फैलाउने अभियानमा लागेका प्रबुद्ध व्यक्ति हुन् तर यो पुस्तक पढ्दा त उनको प्रबुद्धतामा शंका पो उठ्छ । कुनै पनि देश उनी कसरी पुगे, त्यहाँ पुगेर कुन कुन मुख्य ठाउँमा घुमे, त्यहाँका निवासीलाई केकस्तो सन्देश दिए शान्तिको भन्ने प्रश्न राखेर किताब पढ्न बसेको त तामसिक कृत्यमा मात्र जोड दिएको देखेर दिक्क लाग्यो । म नियात्राको "फ्यान" हुँ त्यसैएल यो पुस्तक पढ्न मलाई हुटहुटी थियो । पुस्तकमा छोटा छोटा अध्याय र केही सरस वर्णनले पठनलाई सजिलो बनाएपनि बारम्बार उस्तैखाले प्रसंग दोहोरिरहँदा पछिपछि त झर्को लागेर "स्किप" गर्न मन लाग्छ (जबकि संसारको विशेषता नै वैविध्य हो ) । सगरमाथा आरोहणको भाग तुलनात्मक राम्रै लाग्यो । तर ठाडा र भद्दा शब्द प्रयोग पुस्तकभरि नै गरिएकाले सुसंस्कृत रुचि भएका पाठकलाई बिच्काउँछ । मानवीयतामाथिको आस्थालाई दह्रो बनाउने पुष्करको यात्रावर्णन कलाविहीनताको दलदलमा नराम्ररी फँसेकोमा मलाई दु:ख लाग्यो ।
Friday, October 17, 2014
Bijaya Kumar's "Khusi"
विजय कुमारको पुस्तक "खुसी" मलाई राम्रै लाग्यो । आफ्नो जीवनभोगाइलाई लेखकले इमान्दारीपूर्वक पस्केका छन् जस्तो लाग्यो । कुनै पुस्तक मन पर्नुमा पाठकको आफ्नो पूर्वाग्रहले काम गर्छ भन्ने मेरो मान्यता छ । मैले विजय कुमारको व्यक्तित्वमा आफ्नो व्यक्तित्वका केही झल्का पाएँ, जस्तै लजालु बानी, मान्छेसँग घुलमिल गर्न नरुचाउने, बच्चा मन नपराउने तर आफ्नो पाएपछि वात्सल्यको तीव्र अनुभव गर्ने, जागिर खाने कुरामा फुक्काफाल धारणा राख्ने, कुरा सिधा राख्ने लगायतका कुरा । उनको मनमौजी बानी, अध्यात्मतिरको रुचिलाई पनि मैले आनन्दपूर्वक पढेँ । रक्सी पिउने बानी र यसबाट पाएको छुटकाराको इमान्दार प्रसंग तारिफयोग्य लाग्यो । सम्पादक/प्रकाशकसँगको कुराकानी अब्बल छ । तर "सेक्स" सम्बन्धी पूरै अध्याय नै बकवास लाग्यो किनकि यसमा उनले आफ्नो अनुभवजन्य कुराभन्दा अर्काको भनाइ दोहोर्याए । उनले अन्य व्यक्तिका भनाइमा अन्य प्रसंगमा पनि धेरै भर परेको चित्त बुझेन । पुस्तकमा तथ्यगत त्रुटि भएको कुरा त धेरैले औंल्याए तर भाषा सम्पादनमा समेत बिजोक छ । नेपाली र अंग्रेजी शब्दमा गल्ती भरमार छन् । कल्पनासँगको "प्लेटोनिक" सम्बन्धलाई "प्लुटोनिक", अमेरिकी मित्रको "yacht" लाई "याच" जस्ता गल्ती अग्रेजी शब्दमा भने नेपालीमा एकरूपता नअपनाई एउटै शब्दलाई अनेक हिज्जेमा लेख्ने कामले पठन खल्लो बनायो ।
Subscribe to:
Posts (Atom)