युवाकवि निरज भट्टराईको "धुवाँको धागो" मा संकलित कविताले मलाई प्रभावित गरे । छोटा बान्कीका सशक्त कविता पढेपछि अनौठो आनन्दानुभूति भयो । मृत्यु चिन्तन, समयमाथिका विचार र कविता सिर्जना प्रक्रियालाई कविताको विषय बनाइएको छ । जिन्दगीको म्युजिकल चेयरमा बस्न नसकेकी हजुरआमा, जिन्दगीको धागो तान्ने त्यो अज्ञात शक्ति, अस्तित्वको भुरुङमा मानिसको नाच, जिन्दगी के हो भन्ने प्रश्नको उत्तर पाउन नसकेर भएको छटपटी, समयको गतिसँगै गल्न थालेको काँध, समयले हीरा बनाएको अप्ठ्याराका कोइला, कल्पनाको छिटाले बनेका कविताहरू तलस्पर्शी लागे । लय मिलेका यी कवितामा निहित गेयताले यसको लालित्य बढेको अनुभूति हुन्छ । (वाचनमा झन् कति सुन्दर सुनिएलान्?) जानीबुझीरहेको कुरालाई कवितात्मक अप्रत्यक्षमा भन्न सक्नु निरजको विशेषता हो । "जुन अखबार/चिया तितो बनाउन माहिर थियो/सधैँ झैं हिजो बोकेर आइ रहन्छ/ र आज बिथोलेर गैदिन्छ" ले समाजमा व्याप्त हिंसालाई अभिव्यक्त गरेको छ भने कट्टरपन्थीले महिलाका मुहार क्षत पार्ने कुत्सित क्रियालाई "आ-आफ्नो रिसको आगो थपेर निर्णय गरे/ 'यो आगो केवल अनुहारमा निभाउन सकिन्छ'" मा दर्साइएको छ । दार्शनिक गहिराइ बोक्ने "ऐनाको कैदी", 'ब्रह्माण्ड" जस्ता कविता पढेपछि लाग्छ निरज विचार र अनुभूति दुवैलाई उत्तिकै बलियो रूपमा प्रस्तुत गर्न समर्थ छन् । प्रेमको मधुर अनुभूतिलाई अभिव्यक्त गर्ने "आदत", "सम्बन्ध" जस्ता कविताले त मुटु न्यानो बनाउँछन् । "झाँक्री हीरालाल", "आकाङ्क्षा", "यौटा घरमा", "कति चिजहरू" जस्ता केही कविता भने कमजोर लाग्छन्, शब्दचातुरी मात्र प्रदर्शन भएको देखिन्छ तिनमा । तर अधिकांश कविता राम्रा छन् यो संग्रहमा । नेपाली कविताको क्षेत्रमा निरजको आगमन एक सुखद घटनाका रूपमा मैले लिएको छु ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment