Thursday, August 4, 2011

Kathaaki Paatra Review

युवा कथाकार सुबिन भट्टराईको सद्य:प्रकाशित कथासंग्रह "कथाकी पात्र" पढेपछि पाठकीय आनन्दले ओतप्रोत भएँ । कथाहरू अत्यन्तै मनोरम छन् । अधिकांश कथाले स्त्री-पुरुषसुलभ आकर्षणलाई विषयवस्तु बनाएका छन् र मानवीय सम्बन्धका आरोह अवरोह सबै कथाका विशेषता हुन् । युवा मनस्थितिलाई मीठो भाषामा प्रस्तुत गरेकाले यी कथासँग पाठकको साइनो गाँसिइहाल्छ । काठमाडौंलगायतका सहरमा अवस्थिति छ सबै कथाको । यसले गर्दा अंग्रेजी शब्द पनि बीचबीचमा घुसेका छन् । आफ्नो उमेर समूहका मानिसको भोगाइलाई यथार्थपरक ढंगले पेश गरेका छन् कथाकारले । प्रौढता तथा दार्शनिकताभन्दा पनि युवासुलभ चंचलता र सोचाइ भेटिन्छ कथाहरूमा । म फेरि युवा जोशयुक्त रचना मन पराउने र साहित्यका विधामध्ये कथा नै सर्वाधिक रुचाउने भएकाले पनि होला मलाई यी कथाहरू मन परे । कुनै कुनै कथाका "म पात्र" सँग मैले आफ्नो तादात्म्य समेत पाएँ । पहिलो प्रयासमा यत्तिको रचना गर्नु ठूलो उपलब्धि हो । मलाई सबभन्दा बढी मन परेको कथा "औडाहा" हो र यो कथाको भाव नै आवरण चित्रका रूपमा रहेको छ । (एउटै घटनालाई विभिन्न पात्रमार्फत पेश गर्ने) राशोमोन शैलीमा लखिएको यो कथा उत्क्रिष्ट छ । अन्य कथा पनि राम्रा छन् तर "बर्बादी" र "भगाइहरू" भन्ने कथा चाहिँ मलाई झुर लागे । सुबिनजीमा प्रतिभा भरमार छ र वहाँले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुनेछ भन्ने मेरो द्रिढ विश्वास छ ।

No comments: