Thursday, August 4, 2011
Karnali Blues Review
लेखक बुद्धिसागरको चर्चित उपन्यास "कर्नाली ब्लुज" पढेर असाध्यै मजा आयो । बुद्धिसागर भाषाका जादुगर नै रहेछन् । यत्ति सरल तथा सुगम अनि सुरम्य भाषामा पनि नेपाली उपन्यास लेख्नसकिँदो रहेछ भन्ने कुरालाई लेखकले प्रमाणित गरेका छन् । यथार्थलाई टपक्क टिपेर लेखनीमा उतार्दा त्यसले पाठकलाई मीठो असर पारिहाल्छ । भाषा मात्र राम्रो नभएर यो उपन्यासको विषयवस्तु समेत उच्च कोटिको छ । एउटा छोराले आफ्नो बाको बारेमा देखेका, अनुभव गरेका कुरालाई लेखकले बडो कुशलतापूर्वक शब्दमा उतारेका छन् । साहित्यिक उत्कृष्टताका लागि आवश्यक कथानक, पात्रविकास, अलंकारहरूको प्रयोग, कथ्यात्मक तथा वर्णनात्मक शैली सबैमा यो उपन्यास अब्बल छ । दृष्यविधान (tableaux) अत्ति नै मनोरम छ । हर्षबहादुरको चरित्र त विश्वस्तरको नै लाग्यो मलाई । यो पात्र नि:स्पृह कर्मयोगी हो, ठ्याक्कै टोल्स्टोयको "अन्ना करेनिना" को लेभिन जस्तै । अन्य पात्र पनि गजबका छन् । अन्य पात्रमा मलाई सबभन्दा मन परेको पात्र वीरसिह धामी उर्फ सद्दाम हुसेन हो । अल्लिक साइको पाराको यो पात्रले वास्तविक जीवन जिएको छ । उपन्यासमा एउटा बलियो आकर्षण छ जसले पाठकलाई तानिरहन्छ । म पनि बा आमाको एक्लो छोरो भएको अनि मैले पनि वृषबहादुरले जस्तो आगो लगाउने, साइकल भाँच्ने लगायतका उपद्रो बाल्यकालमा गरेकोले होला त्यो पात्रसँग मेरो आत्मीयता गाँसियो । एकचोटि सबैले पढ्नैपर्ने खालको यो उपन्यासको शीर्षक भने मलाई मन परेन । तर त्यसले के फरक पर्छ र ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment