Friday, April 11, 2014

Hindi film "Queen"

कंगना  रनावतको  अतिप्रशंसित हिन्दी  फिल्म "क्विन"  हेरियो । सानो बजेटमा बनेको साधारण कथा बोकेको यो फिल्म साँच्चै मोहक छ । बिहाकै दिन हुनेवाला श्रीमानले सम्बन्ध तोडेपछि आहत भएकी रानी (रनावत) ले एक्लै हनीमुन मनाउन पेरिस र आमर्स्टड्याम गएको र नारी स्वतन्त्रताको अनुभव बटुलेको कथा हो यो । भारतीय पुरातनवादी समाजमा उकुसमुकुस भएर मुर्झाएकी  नारीले स्वतन्त्र विचरण गर्न पाउँदा फुल्दै/फुक्दै गएको कुरालाई राम्ररी देखाइएको छ फिल्ममा । रनावतले सुरुमा लजालु, भयभीत केटी र पछि गएर आफ्नो कुरा दह्रो रूपमा राख्नसक्ने गरी भएको विकासलाई पत्याउने किसिमले देखाएकी छिन् । उनको अभिनय तारिफयोग्य नै छ । पेरिसमा एकल आमासँगको वार्ता, उन्मुक्त चुम्बनका नजारा अनि आमर्स्टड्याममा तीनजना विदेशी पुरुषसँग होस्टेलको एउटै कोठामा बस्नुपर्दा रानीको सबै धक/लाज छुट्दै जान्छन् र उनले आफ्नो वास्तविकता थाहा पाउँदै जान्छिन् । फिल्म अल्लि लामो भने लाग्छ, आधी घण्टा सजिलै सम्पादन गरेर काट्न सकिन्थ्यो । भारतीय राष्ट्रवाद झल्काउने प्रतियोगिता बेकार लाग्यो भने केही विदेशी पात्रहरू "अथेन्टिक" लागेनन् । तर बलिवुडले बनाउने बकवास (सुपरहिट) फिल्मका तुलनामा यो प्रयास स्तुत्य लाग्छ ।             

No comments: