कुमार नगरकोटीको "फोसिल" कथासंग्रहका विसंगतिजन्य हास्यरसले ओतप्रोत कथाले राजनीतिक चेतलाई रहस्यात्मकतासँग जोडेको अनुभूति हुन्छ । "गिद्धहरूको नाच" शीर्षकको पहिलो लामो कथाले द्वन्द्वको चेपुवामा परेका सर्वसाधारण (जसले अनाहकमा ज्यान गुमाए) र शताब्दियौंदेखि पितृसत्तात्मक समाजको थिचोमिचो तथा अत्याचारमा परेका महिलाको पीडा र बदलालाई प्रस्तुत गरेको छ । फागुन ७ गते हराएको उखानविक्रम मल्लको खोजमा उसको बुवा अनुष्टुप्विक्रम मल्लले गरेको यात्रा र यस क्रममा भेटेका अनौठा पात्र तथा परिस्थिति देखाएर नगरकोटी पाठकलाई आश्चर्यचकित बनाउँछन् ।
नेपाली भाषामाथिको पकड राम्रो हुँदाहुँदै पनि अनावश्यक रूपमा अंग्रेजीमिश्रित नेपाली शब्दहरू भरमार प्रयोग गर्छन् नगरकोटी (यस्तो प्रयोग हामी सबै गरिरहेकै हुन्छौं, म पनि अछूतो छैन तर नगरकोटीको अलि चरम नै छ) । त्यस्तै व्याकरणमा अशुद्धता पनि प्रशस्त भेटिन्छन् । विसंगतिको कथा लेखेको भनेर नगरकोटीले भाषिक र वैयाकरण मर्यादालाई उल्लंघन गर्न चाहिँ मिल्दैन जस्तो लाग्छ । प्रकाशित लेखक हुनुको हैसियतमा उनको लेखकीय तथा सामाजिक दायित्व त होला नै तर उनी "हु केयर्स" को एटिच्युड राख्छन् ।
वसन्त ऋतुलाई पेन्टरको रूपमा प्रस्तुत गरेर बगैचा सिंगारेको कल्पना गर्ने नगरकोटीको सौन्दर्यचेत राम्रो छ । त्यस्तै दृश्यविधानमा पनि उनको दक्षता देखिन्छ, विशेषगरी चलचित्रात्मकता देखिने दृश्य कोलाज र अत्यधिक ध्वनिपश्चात् एक्कासी मौनता ल्याएर ।
नाटकका संवादजस्ता लाग्ने वानलाइनरले अर्थहीनतामा हास्य जन्माउँछन् । छोरो हराएको गम्भीर परिस्थितिमा प्रहरी निरीक्षक र अनुष्टुप्विक्रम किन हास्यास्पद वाहियात कुरा गरिरहेका होलान् भन्ने लाग्छ तर त्यो बेला काठमाडौंमा सबै बौलाएका थिए भनिएकाले बौलाएको मान्छेको बोलीमा के तर्क खोज्नु र ? डार्क ह्युमर पनि हुनसक्छ यो । तर नगरकोटी लेख्दालेख्दै बहकिएका झैँ लाग्छन् कतै । जस्तो, योगमायाको आत्मा चढेकी महिलाले "किन किन ? ह्वाई ह्वाई ? ह्वाई दिस कोलाबेरी कोलाबेरी" भनेकोमा यो पपुलर कल्चलर रिफरेन्सको के प्रयोजन होला ? त्यस्तै पात्रका अनौठा नामको निहितार्थ खुल्नेगरी कथाकारले चर्चा नगर्दा तिनको प्रयोजन पुष्टि गर्न गाह्रो हुनेरहेछ ।
नगरकोटी बिम्ब खेलाउन रुचाउँछन् र उनका दोहोरिरहने बिम्ब गिद्ध, लास, मसानघाट, रात आदि हुन् र यी सबैले उनको रहस्यवादप्रियतालाई झल्काउँछ । विगतको द्वन्द्वमा भएका मानवअधिकार उल्लंघनका घटनामध्ये बेपत्तालाई नगरकोटीले आफ्ना तीनवटा कथामा उल्लेख गरेका छन् किनकि बेपत्ताको अज्ञात, रहस्यमय स्थितिमा उनको स्वैरकल्पनाशीलताले गति प्राप्त गर्छ ।
नगरकोटीको आख्यानको विशेषता भनेको एट्मोस्फियर निर्माण गर्नसक्नु पनि हो । कुनै हरर फिल्मको जस्तो उनी रातका निस्तब्धता तथा मसानघाटका सुनसानमा पाठकलाई पुर्याउँछन् र झड्का दिन्छन् । उनका यी कतिपय विशेषता फ्रान्ज काफ्काका कथाहरूमा देख्न पाइन्थ्यो ।
तर नगरकोटीका कथा बुझ्न अलि हम्मे नै पर्छ आम पाठकलाई । मैले पनि "बरफ", "कथार्सिस", "रिभोल्भर", "फोसिल" लगायतका उनका कथाले भन्नखोजेको कुरा बुझ्न सकिनँ । यथार्थ र कल्पनाको सम्मिश्रण, जीवित र मृत पात्रको संवादजस्ता अयथार्थिक घटनाले के इंगित गर्नखोजेका हुन् भन्ने खुट्ट्याउन मलाई गाह्रो भयो । हास्यरसले सिक्त कथानक नहुन्थ्यो भने नगरकोटी पढ्नै नसकिने कथाकार हुन्थे । नगरकोटीले सरलताको बाटो हिँडेको संकेत भने दिएका छन् पाठकलाई प्रत्यक्ष सम्बोधन गरेर अनि कतिपय घटनाको स्वव्याख्या गरेर (जस्तो, "पाण्डुलिपि" कथामा बाघ पुरुष अहंकारको प्रतीक हो भनी गरेको व्याख्या) तैपनि उनका कथा बुझ्न गाह्रै छन् । तर त्यही पुरानै विषयलाई रिप्याकेजिङ गरेर सूत्रबद्ध र झिँझोलाग्दो कथा पढिरहिएकोमा "ब्राकेटबाहिर" का लेखक नगरकोटीको वैकल्पिक हस्तक्षेप नै होला उनीप्रतिको आकर्षण । उनको उदासीन, आउटसाइडर, फकिर व्यक्तित्वले पनि युवा पाठकलाई उनीप्रति श्रद्धावनत बनाएको हुनसक्छ ।
No comments:
Post a Comment