जगदीश घिमिरेको नयाँ उपन्यास “सकस” पढिसिध्याएँ । तीनजना कथावाचकका माध्यमले आधुनिक नेपालका प्रमुख राजनीतिक र ऐतिहासिक घटनाक्रमको विवरण प्रस्तुत गरिएको यो उपन्यासमा औपन्यासिकताभन्दा बढी उन्मुक्त आलोचनात्मक टिप्पणी बढी हावी भएको पाइन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरेको नेपालमा उनीपछिका शासकले ल्याएको भाँडभैलोको वर्णन गरेर घिमिरेले सबै (राज) नेता र राजनीतिक दलको हुर्मत लिएका छन् । सामान्य मान्छेका लागि
नेपाल नर्कभन्दा कम नभएको अनि नेताले चाहिँ बेस्सरी लुटेको विवरण प्रस्तुत गरिएको छ । नेपाली जनताले जतिखेर पनि भनिरहने कुरालाई यो उपन्यासमा विषय बनाइएको छ । इतिहासका खास घटनामा केही कल्पनाको रंग चढाएर हल्का साहित्यिक पुट दिन खोजिएको भएपनि यो उपन्यासमा वस्तुतः टिप्पणी नै बढी छ । द्वन्द्वकालमा माओवादी तथा सेनाबाट प्रताडित अनि द्वन्द्वोत्तर समयमा मधेशवादीबाट पीडित बनाइएको शरद, बलात्कारपीडित उसकी श्रीमती कुमारी र राजनीतिक विचलन तथा सन्तानबाट पीडित उनीहरूलाई आश्रय दिने जीबा (हरिवंश) ले कथाका क्रम जोडेका छन् । पौराणिक शैली अपनाइएको छ । कथा र उपकथाका सञ्जाल र “अमुक उवाच” भनेर कुनै पात्रले पुराना कुरा सुनाउने शैली रमाइलो लाग्यो । संस्कृतका महाकाव्यका प्रसंग बीचबीचमा घुसाएर लालित्य थपिएको छ । भाषामा मीठास छ र हास्यचेत कायम राखिएको छ । भाषिक शुद्धता कायम छ, कतैकतै मात्र चिप्लिएको देखिन्छ । उपन्यास पढ्दा कहीँ पनि बोर लाग्दैन किनकि इतिहासका रोज्जा रमाइला प्रसंगलाई लेखकले प्रस्तुत गरेका छन् । तर केही ठाउँमा भने कोरा टिप्पणी छन् जसले अलिक रसभंग गर्छन् । सपनाको बिम्ब मोटिफका रूपमा आएको छ । सपना देखाएर युद्धबाट फाइदा उठाउने नारावादी नेताप्रति लेखकले तीखो प्रहार गरेका छन् । विदेशीको इसारामा चलेर नेपाली समाजको हार्मोनीमा धावा बोल्ने एनजिओ र आइएनजिओमाथि पनि निर्मम आक्रमण गरेका छन् उनले । अन्त्यमा आशावादी स्वर पनि गुञ्जिएको छ उपन्यासमा । तैपनि लेखकले ठाडो टिप्पणी गर्नतर्फ नलागेको भए उपन्यास अझै मीठासयुक्त हुनसक्थ्यो भन्ने चाहिँ लागिरह्यो मलाई । यसका बाबजुद मलाई उपन्यास मन पर्यो र यसको प्रकाशन स्वागतयोग्य मानेँ ।
No comments:
Post a Comment