शारदा शर्माको उपन्यास “ताप” पढिसिध्याएँ । नेपालीमा दार्शनिक उपन्यास कमै लेखिएका छन् र भएका पनि उल्लेखनीय छैनन् तर यो उपन्यासले त्यो रिक्ततालाई पूर्ण गर्ने जमर्को गरेको छ । यसमा धेरै कथावाचकले आफ्ना जीवन अनुभव, विशेषगरी आध्यात्मिक तापले दिएका अनुभव, को बेलीविस्तार लगाएका छन् । भैरवनाथ गणमा सेनाद्वारा अकारण यातना दिइएकी सुजाता; राणाशाही परिवारका कुरूपता, वर्गीय भिन्नता भएका श्रीमान्सँगको सम्बन्ध टुट
ेबाट तथा छोरीको कोपभाजन हुनुपरेर व्यथित चन्द्रिका (सुजाताकी आमा); सेनाको अत्याचारका कारण माओवादी भएको मुक्ति; चन्द्रिकाको साथी यमन; कैवल्य आश्रमका गुरु तथा उनकी पत्नीलगायतका कथावाचकले उपन्यासका घटनाक्रमलाई अघि बढाएका छन् । उपन्यासको बढी भाग चाहिँ चन्द्रिकाले ओगटेकी छिन् । बौद्ध धर्मका अनेकौं आयाम, बाउल सम्प्रदायका आध्यात्मिक अभ्यासका बारेमा उपन्यासमा चर्चा भएको छ । चन्द्रिका र सुजाता दुवै विद्रोही प्रकृतिका नारीवादी चेतनाका महिला हुन्छन् जसको टक्कर भौतिक र आध्यात्मिक क्षेत्र दुवैतिरमा पुरुषसँग पर्छ । उनीहरूका तीखा र जायज प्रश्नको उत्तर दिन धर्मगुरुहरू असमर्थ हुन्छन् । उनीहरूले खोजेको उत्तर तन्त्रले मात्र दिनसक्छ जस्तो लाग्छ मलाई त । जे होस्, उनीहरूका दार्शनिक उद्गारले उपन्यास गरिमामय बनेको छ । जीवन भोगाइका यथार्थमा समेत दार्शनिकता हुन्छ जसलाई यी पात्रमार्फत उपन्यासकारले बयान गरेकी छिन् । उपन्यासको भाषामा ओज छ र शैली पनि ठीकै छ । तर केही घटनाक्रमको तारतम्य नमिलेको जस्तो लाग्छ । कतिपय ठाउँमा भाषिक अशुद्धता र मुद्राराक्षस भेटिन्छन् । तीनवटा तापमा आधिदैविक, आधिभौतिक र आध्यात्मिक ताप हुनुपर्नेमा “आदि” प्रयोग गरिएको छ जसले अनर्थ गर्छ । भाषा सम्पादकले अलि मेहनत गरेजस्तो लागेन । अनि विषय सम्पादकको अभाव टड्कारो देखिन्छ । मुक्ति भन्ने पात्र त्यति दह्रो लागेन र उसको अन्त्य पनि मन परेन । भैरवनाथ गणमा सुजाताले आफ्नो नाम ढाँटेको कन्भिन्सिङ लागेन । तर पात्र स्थापना गर्न चाहिँ शर्मा माहिर रहिछन् । जस्तोसुकै सानो पात्रको पनि मसिनो वर्णन गरेकी छिन् उनले । बाह्य प्रकृति तथा मानवनिर्मित वस्तुका सार्थ पात्रको मनोदशालाई कवित्वपूर्ण वर्णन गर्नसक्ने शर्माको कलाको तारिफ गर्नैपर्छ । संवाद भने बोझिल छन् कतै, कतै यथार्थपरक पनि छन् । पुरुषको परुष मनोवृत्तिलाई सफलतापूर्वक देखाइएको छ । उपन्यासमा नारीवादी स्वर मुखर छ । उपन्यास केही कमीकमजोरीका बाबजुद सशक्त छ । एकचाटि पढ्नैपर्ने खालको छ । तर अलि बौद्धिक हुनाले जोकसैले मन नपराउन सक्छन् । (“सकस” र यो उपन्यास सँगसँगैजसो निस्केका र तिनका विषय तथा शैलीमा पनि समानता रहेको जस्तो लाग्यो । द्वन्द्वका केही प्रतिनिधिमूलक घटनामध्येको भैरवनाथ गण अध्यायलाई दुवै उपन्यासमा महत्व दिइएको छ ।)