तान्त्रिक शशिमोहन बहलको तान्त्रिक उपन्यास “कपालभैरवी” पढें । यसमा भारतीय तान्त्रिक पण्डित कुशोक र उनकी तिब्बती भैरवी मिन्हीका अनेकौं तन्त्रक्रियाको वर्णन गरिएको छ । तन्त्रमार्गमा वामाचार सम्प्रदायका अनेकौं दुष्ट तान्त्रिकको बोलबाला रहेकोमा कुशोक र मिन्ही परलोकहिताय काम गर्ने साधक हुन्छन् । दुष्ट तान्त्रिक अरु मान्छेलाई भूतप्रेतको चक्करमा पार्ने, दुःख दिने, मानवबलि दिने, केटीहरूलाई बलात्कार गर्ने क
ृत्यमा सामेल हुन्छन् भने कुशोक र मिन्ही भूतप्रेत बाधा भएका दुःखी प्राणीको हितमा तल्लीन रहन्छन् । तिब्बत, नेपाल र भारतका उत्तरी क्षेत्र, समग्रमा भन्दा हिमालय क्षेत्र, मा अनेकौं तन्त्रसाधक तथा अघोरी रहेकामा कुशोक र मिन्ही उच्चकोटिका साधक हुन् । (नेपाल त तन्त्रसाधनाको पवित्र भूमि हो । पशपतिनाथको मन्दिरमा विशाल तान्त्रिक उर्जा छ ।) हिन्दू र बौद्ध तन्त्र परम्परामा आधारित शव साधना, श्मसान साधना, पञ्चमकार साधनाका कैयौं क्रियाकलापको यहाँ वर्णन गरिएको छ । तन्त्र जादूटोना मात्र होइन, यो त आत्मज्ञान प्राप्त गर्ने छिटो र प्रभावकारी उपाय पनि हो । तन्त्रको सबभन्दा राम्रो पक्ष भनेको यो सर्वस्वीकारवादी शास्त्र हो । प्रत्येक कुरा आत्मज्ञानको साधन हो भनी तन्त्रले सिकाउँछ । त्यसैले यौन, मदिरा, मसानघाटमा नृत्य, शवसाधना जस्ता वस्तुसमेतको प्रयोग हुन्छ तन्त्रमा । सबै धर्ममा तन्त्र हुन्छ तर यसका साधक गोपनीय रहन चाहन्छन् । तन्त्रशास्त्रका प्रणेता श्री महादेवले पनि यो गोप्य शास्त्र जोकोहीलाई उजागर नगर्नका लागि चेतावनी दिनुभएको छ । यो उपन्यासमा रतिक्रीडा, मानवबलि, श्मसानका भयानक साधना आदिका वीभत्स वर्णन गरिएको छ । तर सम्पादनको कमीका कारण कुरा दोहोरिरहन्छन् र घटनावलीको तारतम्य पनि मिलेको छैन । अनि कतैकतै अत्यन्त फिल्मी तवरले घटनाको वर्णन गरिएको छ र भाषिक मर्यादा समेत कायम गरिएको छैन । मलाई रहस्यविद्यामा रुचि हुनले यो उपन्यास पढें । यसमा तन्त्रका तत्ववर्णन थोरै मात्रामा गरिएको छ । तर समग्रतामा यसले मलाई खासै सन्तुष्ट पारेन । चर्चित तान्त्रिक नारायणदत्त श्रीमालीको उपन्यास उहिले पढेको थिएँ, त्यो चाहिँ असाध्यै मन परेको थियो ।