Monday, December 3, 2012

Life of Pi: A Visually Sumptuous Film

अंग्रेजी फिल्म "लाइफ अफ पाइ" नहेरी चित्तै  बुझेन । आङ ली मेरा प्रिय निर्देशक हुन् । अनि यो फिल्मको मूल स्रोतका रूपमा रहेको यान मार्टेलको उपन्यास पनि पहिले नै पढेको र मन पराएको हुँ मैले । ३डि चस्मा लगाएर फिल्म हेर्न मन लाग्दैन मलाई तर यो फिल्म चस्मा लगाएरै हेर्न लायकको रहेछ । भारतको पोन्डिचेरीको चिडियाखाना संचालकको कान्छो छोरो पाइ पटेलले प्रशान्त महासागरमा एउटा बंगाली बाघसँग २२७ दिन बिताएको रोमांचकारी कथा छ यो फिल्ममा ।  आफ्ना चिडियाखानाका जनावरसहित भारतबाट क्यानाडातर्फ बसाइ सर्न लागेका पाइका परिवार जापानी जहाजमा चढेर त्यता जाँदा फिलिपिन्सनेरको मारियाना ट्रेन्चमा जहाज दुर्घटना हुन्छ र पाइ अनि बाघबाहेकका सबै प्राणी मर्छन् । त्यसपछि पाइले एउटा लाइफबोटमा बसेर आफ्नो दिमाग लगाएर बाघलाई साथी बनाउँछ र मेक्सिकोमा जीवित पुग्छ । तर के यो अपत्यारिलो कथा सत्य हो त ? पाइ ठूलो भएपछि एउटा लेखकलाई आफ्नो कथा सुनाउँछ र त्यसको दुईवटा भर्जन दिन्छ । कुन कथा पत्याउने भनी  फिल्मले दर्शकलाई नै निर्णय गर्न लगाउँछ । कथा साधारणखाले छ तर यसभित्र लुकेको दार्शनिक अर्थ गहन छ । भगवान् को अस्तित्व छ र उनले मानिसलाई दिशानिर्देश गर्छन् भन्ने सन्देश फिल्मले दिन्छ । धर्म फरक भएपनि तिनका विचार समान हुन्छन् पनि भन्छ फिल्मले । एउटा भनाइ छ नि, "जाको राखे साइँया, मार सके न कोय", अर्थात् जसलाई भगवान् ले बचाउन चाहन्छन्, त्यसलाई कसैले नि मार्न सक्दैन । त्यसैगरी फिल्ममा पनि पाइलाई जसरी भए पनि जोगाएका छन् प्रभुले । पाइ ईश्वरप्रति कृतज्ञ पनि छ यसैकारण । आस्था, सहअस्तित्व, सहनशीलता, धैर्य र मोहरहितता जस्ता महान् सत्यलाई फिल्मको कथाले निहितार्थ बनाएको छ । अनि फिल्म कलापूर्ण छ । यति सुन्दर सिनेमाटोग्राफी भएको फिल्म बिरलै बन्छन् । फिल्मको सुरुवाती सटमा जनावरहरू वन्य वातावरणमा रमाइरहेको देखाइएको छ जसले जेनको आभास दिन्छ । समुद्रका लहर, सुन्दर माछा टलक्क टल्केका, आकाशमा टिमटिम गर्ने चम्किला तारा, समुद्रलाई चुम्न तम्तयार बादलुका टुक्रा सबै मिलेको  मनोहारी दृश्य सजिएका छन् फिल्मभरि । ३डि प्रविधिको उपयुक्त  प्रयोग गरेका छन् निर्देशक आङ लीले । समुद्रको पानीलाई आँखाको लेभलको ठीक बीचमा राखेर खिचेकाले गर्दा दर्शक आफैँ पाइसँगै पानीमा चोपलिएको अनुभव गर्छन् । ३डिको विशेषता नै दर्शकलाई वास्तविक अनुभवको सामीप्यको आभास दिनु न हो जुन यो फिल्ममा भएको छ । समुद्रका लहरले लाइफबोट हल्लाएका र पाइले बाच्नका लागि संघर्ष गरेका  दृश्यमा पनि दर्शकले स्वानुभूतिको रोमांच पाउँछन् ।   दिउँसो मिरक्याट नामक जनावरले युक्त खाने तरुलको जंगल राति खतरनाक अम्लीय पदार्थ बन्ने टापुलाई लंग सटमा खिच्दा शेषशायी भगवान् विष्णु ब्रह्माण्डीय जलमा शयन गरेको अनुभूति हुन्छ जसको तारिफ गरेरै थाकिन्न । फिल्म असाध्यै राम्रो बनेको छ, हेर्न नछुटाउनुहोला । हलमा गएर चस्मा लगाएरै हेर्नुस् भन्छु म त ।     

No comments: