Thursday, December 4, 2014

Naseeruddin Shah's memoir "And Then One Day"

Naseeruddin Shah’s memoir “And Then One Day” left me desiring for more. Shah has focused more on his personal life and failed to give equal consideration to his professional life. I wanted to learn more about the films he played and his reactions to them. The reactions (mostly negative) are there but he talks nothing about his career after 1980s.
Shah feels himself a misfit in Hindi film industry where people who don’t know their onions rule the roost and produce cat’s vomit that goes by the name of commercial cinema. He feels comfortable only in so-called “art-cinema” (he waxes eloquent about the movie “Sparsh”). Ruthlessness in passing judgment on others and even on himself is the hallmark of his memoir. The strained relationship with his father perhaps makes him a tempestuous man of temper who is garrulous and disobedient to directors in film sets.
However, the warm appreciation he shows for fellow actors Om Puri, Shabana Azmi (barring one place where he criticizes her acting), Smita Patil and some others is delightful. His frank observations of Indian theater and movies show us the murky reality of the show business. His command over the English language is superb and the memoir consists of delightful phrases and sentences. He could have written more.

Thursday, November 13, 2014

Talakjung vs Tulke टलकजंग भर्सेस टुल्के

"टलकजंग भर्सेस टुल्के" हेरियो । ठीकै लाग्यो । बतासे कथा बोकेको चर्को मेलोड्रामा बन्ने सिनेउद्योगमा यथार्थको नजिक रहेको, स्थानीय भाषाशैली पक्रेको फिल्मलाई प्रोत्साहन गर्नु पर्छ तर फिल्म अझै राम्रो हुन सक्थ्यो जस्तो लाग्यो । लु सुनको कथा "द ट्रु स्टोरी अफ आह क्यु" को नेपाली संस्करण भनिएको यो फिल्मको कथा अनुवादमा आफ्नो गहिराइ गुमाउन पुगेको अनुभूत हुन्छ । खगेन्द्र लामिछानेले लेखेको कथामा धेरै छिद्र छन् । मुख्य कुरा त कथा सलल बगेको छैन । कमीकमजोरीको  रौचिरा विश्लेषण गर्न थाल्दा कथाको ठूलो अंश नै भन्नुपर्ने हुँदा हेर्न मजा आउँदैन, त्यसैले त्यता नलागौं । द्वन्द्वको सतही चित्रण छ कथामा । तर लामिछानेको  अभिनय उम्दा छ । पूरै बाँचेका छन् उनी चरित्रमा । अन्य कलाकारको अभिनय पनि राम्रो छ । "लुट" मा निश्चल बस्नेतको स्टाइलिस निर्देशन थियो, यसमा त्यस्तो वाह भन्न लायक खासै काम भेटिनँ । शीर्षकको सार्थकता भेटिन्न (अन्तिममा "फुली" पात्रले व्याख्या गर्न खोजे पनि त्यो कमजोर छ) । एकचोटी हेर्दा हुने तर हलबाट निस्केपछि बिर्सिइने फिल्म लाग्यो मलाई !        

Sunday, November 9, 2014

Saurabh's "Asahamati" सौरभको "असहमति"

सौरभको नयाँ पुस्तक "असहमति" पढेर सिध्याएँ ।  बुझ्नै गाह्रो ।  धेरै सूचना खाँदाखाँद हुन्छ प्रत्येक लेखमा । तैपनि यसो बुझ्न खोज्दा सौरभले वनस्पति र जीवजन्तु (फ्लोरा यान्ड फौना) लाई आधार बनाएर इतिहासको मूल्यांकन गर्ने रहेछन् । अनि शब्दको उत्पत्ति कसरी भयो होला भन्ने कुरा गम्दै कुनै पनि घटनाको प्राचीनता/अर्वाचीनता खुट्ट्याउन खोज्छन् । यो क्रममा उनी भारतवर्ष र चीनको प्राचीनता र पश्चिमको आधुनिकतालाई पुन:स्थापित गर्दछन् अनि नेपाल राज्यको विश्वसभ्यतामा योगदानको चर्चा गर्न पुग्छन् । आधुनिक समाजले भुलिसकेको राष्ट्रिय गौरवलाई सम्झाउने सौरभको प्रयास प्रशंसनीय छ । तर उनका दाबीलाई "भेरिफाइ" गर्नलाई आफ्नो अध्ययन पनि त्यति नै व्यापक हुनुपर्यो, जो मलगायत धेरैमा छैन । त्यसैले उनका लेखमा आएका पाठक प्रतिक्रिया त्यति गहन नभएका होलान् (जुन यस पुस्तकमा समावेश गरिएका छन्) । नेपालको राजनीतिक तरलताको फाइदा उठाउन खोज्दै  पश्चिमले लाद्न  खोजेको जातीय विद्वेष र त्यसको मतियार बनेका दलका नेताप्रति उनको  तीव्र कटाक्ष छ । तर यी सबै कुरा सहज तरिकाले पनि लेख्न सकिन्थ्यो होला, यस्तो "सिजोफ्रेनिक" शैली उनी किन अपनाउँछन् खै ?       

Friday, October 31, 2014

Nayan Raj Pandey's "Nidaaye Jagadamba" निदाएँ जगदम्बा

नयनराज पाण्डे दाइको पुरानो कथा संग्रह "निदाएँ जगदम्बा" एकै बसाइमा पढिसिध्याएँ । सुललित भाषामा समाजका विकृतिहरूमाथि तीव्र व्यंग्य गरिएका कथामा निहित प्रतीक प्रयोगले नयन दाइको आख्यानशिल्पलाई उच्च बनाएको अनुभव भयो । विशेषगरी "कीला " (धार्मिक असहिष्णुता) , "देश" (अदूरदर्शिता), "निदाएँ जगदम्बा" (साहित्यिक गुटबन्दी) मा प्रयुक्त भिन्नभिन्न प्रतीकले वर्तमान विसंगतिको शल्यक्रिया गर्ने लेखकको तरिका उम्दा लाग्यो । अन्य कथा पनि राम्रै छन् । लेखकको संवेदनशीलताले समाजका विकार देखेर जन्मेको रोष नारावादी नभइकन कठोर व्यंग्यमा अभिव्यक्त भएको छ । आफ्नो व्यंग्यप्रहारको पात्रलाई धेरैले सजिलै थाहा पाउनेगरी बढी नघुमाइकन प्रस्तुत गर्नुभएको छ नयन दाइले, त्यसैले पनि ती चोटिला बन्न पुगेका छन् । छपाइको प्राविधिक त्रुटिका कारण चारवटा जति कथा चाहिँ अधूराअपूरा भएछन् ।

Monday, October 20, 2014

Pushkar Shah's "Sansaar laaii saadhe paach fanko"

पुष्कर शाहको "संसारलाई साढे पाँच फन्को" प्रबल सम्भावना बोकेको तर अनुचित प्रस्तुतीकरणले गर्दा स्तरहीन बन्न पुगेको पुस्तक लाग्यो मलाई । विश्वका १५० देशमा घुमेर बटुलेको अनुभवजन्य पुस्तक त सांस्कृतिक, भौगोलिक, मानवीय सबै पक्षको दह्रो विवरणले भरिएको हुनुपर्ने हो । तर यो पुस्तक त विभिन्न देशमा गएर बेस्सरी जाँड धोकेको, तरुनीहरूसँग झन्डैझन्डै सुतेको, उनीहरूका नग्न शरीर देखियो भनेर दंग परेको एउटो उरन्ठेउलो युवकको डायरीमा मात्र पो सीमित रह्यो । पुष्कार पक्कै तेस्ता मान्छे हैनन् होला । उनी त विश्वमा शान्ति फैलाउने अभियानमा लागेका प्रबुद्ध व्यक्ति हुन् तर यो पुस्तक पढ्दा त उनको प्रबुद्धतामा शंका पो उठ्छ । कुनै पनि देश उनी कसरी पुगे, त्यहाँ पुगेर कुन कुन मुख्य ठाउँमा घुमे, त्यहाँका निवासीलाई केकस्तो सन्देश दिए शान्तिको भन्ने प्रश्न राखेर किताब पढ्न बसेको त तामसिक कृत्यमा मात्र जोड दिएको देखेर दिक्क लाग्यो । म नियात्राको "फ्यान" हुँ त्यसैएल यो पुस्तक पढ्न मलाई हुटहुटी थियो ।   पुस्तकमा छोटा छोटा अध्याय र केही सरस वर्णनले पठनलाई सजिलो बनाएपनि बारम्बार उस्तैखाले प्रसंग दोहोरिरहँदा पछिपछि त झर्को लागेर "स्किप" गर्न मन लाग्छ (जबकि संसारको विशेषता नै वैविध्य हो ) । सगरमाथा आरोहणको भाग तुलनात्मक राम्रै लाग्यो । तर ठाडा र भद्दा शब्द प्रयोग पुस्तकभरि नै गरिएकाले सुसंस्कृत रुचि भएका पाठकलाई बिच्काउँछ । मानवीयतामाथिको आस्थालाई दह्रो बनाउने पुष्करको यात्रावर्णन कलाविहीनताको दलदलमा नराम्ररी फँसेकोमा मलाई दु:ख लाग्यो । 

Friday, October 17, 2014

Bijaya Kumar's "Khusi"

विजय कुमारको पुस्तक "खुसी" मलाई राम्रै लाग्यो । आफ्नो जीवनभोगाइलाई लेखकले इमान्दारीपूर्वक पस्केका छन् जस्तो लाग्यो । कुनै पुस्तक मन पर्नुमा पाठकको आफ्नो पूर्वाग्रहले काम गर्छ भन्ने मेरो मान्यता छ । मैले विजय कुमारको व्यक्तित्वमा आफ्नो व्यक्तित्वका केही झल्का पाएँ, जस्तै लजालु बानी, मान्छेसँग घुलमिल गर्न नरुचाउने, बच्चा मन नपराउने तर आफ्नो पाएपछि वात्सल्यको तीव्र अनुभव गर्ने, जागिर खाने कुरामा फुक्काफाल धारणा राख्ने, कुरा सिधा राख्ने लगायतका कुरा । उनको मनमौजी बानी, अध्यात्मतिरको रुचिलाई पनि मैले आनन्दपूर्वक पढेँ । रक्सी पिउने बानी र यसबाट पाएको छुटकाराको इमान्दार प्रसंग तारिफयोग्य लाग्यो । सम्पादक/प्रकाशकसँगको कुराकानी अब्बल छ । तर "सेक्स" सम्बन्धी पूरै अध्याय नै बकवास लाग्यो किनकि यसमा उनले आफ्नो अनुभवजन्य कुराभन्दा अर्काको भनाइ दोहोर्याए । उनले अन्य व्यक्तिका भनाइमा अन्य प्रसंगमा पनि धेरै भर परेको चित्त बुझेन । पुस्तकमा तथ्यगत त्रुटि भएको कुरा त धेरैले औंल्याए तर भाषा सम्पादनमा समेत बिजोक छ । नेपाली र अंग्रेजी शब्दमा गल्ती भरमार छन् । कल्पनासँगको "प्लेटोनिक" सम्बन्धलाई "प्लुटोनिक", अमेरिकी मित्रको "yacht" लाई "याच" जस्ता गल्ती अग्रेजी शब्दमा भने नेपालीमा एकरूपता नअपनाई एउटै शब्दलाई अनेक हिज्जेमा लेख्ने कामले पठन खल्लो बनायो ।

Monday, September 29, 2014

The flying posture

मानिसले दुवै हातलाई उचालेर फैलाउने मुद्राले मलाई घोत्लिन बाध्य गरायो । पंछीले पखेटा फिँजाएर उडेको क्रियालाई मानिसले अनुकरण गरेको हुनसक्छ यो । पंछीको उडान स्वतन्त्रताको प्रतीक हो र मानिसको स्वभाव नै स्वतन्त्रता रुचाउने हुन्छ । धेरैजसो प्रख्यात मानिसले कुन जीव बन्न पाए हुन्थ्यो भन्ने प्रश्नको उत्तर "चरा" भनेर दिन्छन् । अनि हात फैलाउने मुद्रा त जिसस क्राइस्टको प्रसिद्ध मुद्रा भैहाल्यो । यसको आध्यात्मिक महत्त्व छुट्टै छ । क्रिस्तानी धर्ममा रहस्यमयी सन्तहरूले आफ्नो हत्केलामा क्राइस्टको दु:खलाई आत्मसात गर्दै कीलाको घाउ (स्टिगमाटा) अनुभव गर्छन् भनी परमहंस योगानन्दको आत्मकथामा उल्लेख गरिएको छ । भारतीय रहस्ययोगमा समेत सिद्ध योगीहरूले संसारलाई दुवै हात फैलाएको पुरुषका रूपमा देख्छन् भनी गोपीनाथ कविराजको कुनै पुस्तकमा पढेको थिएँ । अनि अाधुनिक युगमा हात फैलाउने मुद्रा त "टाइटानिक" फिल्मले प्रसिद्ध बनायो । जहाजको टुप्पोमा गएर नायकनायिका दुवैले सूर्यास्त हेर्दै हात फैलाएर प्रेममा लीन भएको त्यो दृश्य अत्यधिक अनुकरण गरियो फिल्महरूमै पनि, वास्तविक जिन्दगीमा पनि ।