Monday, September 29, 2014

The flying posture

मानिसले दुवै हातलाई उचालेर फैलाउने मुद्राले मलाई घोत्लिन बाध्य गरायो । पंछीले पखेटा फिँजाएर उडेको क्रियालाई मानिसले अनुकरण गरेको हुनसक्छ यो । पंछीको उडान स्वतन्त्रताको प्रतीक हो र मानिसको स्वभाव नै स्वतन्त्रता रुचाउने हुन्छ । धेरैजसो प्रख्यात मानिसले कुन जीव बन्न पाए हुन्थ्यो भन्ने प्रश्नको उत्तर "चरा" भनेर दिन्छन् । अनि हात फैलाउने मुद्रा त जिसस क्राइस्टको प्रसिद्ध मुद्रा भैहाल्यो । यसको आध्यात्मिक महत्त्व छुट्टै छ । क्रिस्तानी धर्ममा रहस्यमयी सन्तहरूले आफ्नो हत्केलामा क्राइस्टको दु:खलाई आत्मसात गर्दै कीलाको घाउ (स्टिगमाटा) अनुभव गर्छन् भनी परमहंस योगानन्दको आत्मकथामा उल्लेख गरिएको छ । भारतीय रहस्ययोगमा समेत सिद्ध योगीहरूले संसारलाई दुवै हात फैलाएको पुरुषका रूपमा देख्छन् भनी गोपीनाथ कविराजको कुनै पुस्तकमा पढेको थिएँ । अनि अाधुनिक युगमा हात फैलाउने मुद्रा त "टाइटानिक" फिल्मले प्रसिद्ध बनायो । जहाजको टुप्पोमा गएर नायकनायिका दुवैले सूर्यास्त हेर्दै हात फैलाएर प्रेममा लीन भएको त्यो दृश्य अत्यधिक अनुकरण गरियो फिल्महरूमै पनि, वास्तविक जिन्दगीमा पनि ।